नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।

कोरोना संक्रमण बढेपछि बाँके र बर्दिया जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि एक साता निषेधाज्ञा जारी गरेका छन् । संक्रमण फैलिँदै गएकाले बाँके जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ । बर्दिया जिल्लामा पनि आज मध्यरातिदेखि वैशाख १९ गते मध्यरातिसम्म निषेधाज्ञा गरिएको छ ।
छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दिया प्रशासनले पनि निषेधाज्ञा गरेको हो । निषेधाज्ञामा स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ । जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

