नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।

बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलही घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा-दुलही सामान्य घाईते भएको स्थानीय सञ्चारकर्मी वसन्त बिष्टले घटनास्थलबाट जानकारी दिए । दुर्घटना भएको स्थानमा अहिले स्थानीयवासी र प्रहरीले उद्धारको काम गरिरहेको बिष्टले बताए।
आइतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको बन्सा गएको थियो । एकदिवशिय विवाह सकेर आइतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ ।

