नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।

नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण भएको छ । नेता रिजालले सामाजिक सञ्जालमार्फत मंगलबार गरिएको परीक्षणबाट आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
उनले आफू नजिक आएकाहरूलाई शीघ्र परीक्षण गराएर सावधानी अपनाउन आग्रह पनि गरेका छन् ।
“आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड–१९ पोजेटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु । यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु,” उनले फेसबुकमा लेखेका छन् ।
रिजालमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी ओली पनि कन्ट्याक ट्रेसिङमा परेका छन् । एक साताकै बीचमा प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका दुई वटा केन्द्रीय कमिटीका बैठकमा रिजाल सहभागी भएका थिए ।
