नवकान्तिपुर संवाददाता
काठमाडौं, वैशाख १५ ।

खुकुरी थ्री एक्स रमले नेपालका पवित्र हिमालयहरूको संरक्षण र सुरक्षार्थ विश्वकै बृहत्तर हिमालय सफाइ अभियानमा आफ्नो संलग्नता जनाएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २०२१ मा खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिज प्रा.लि.ले आफ्नो साझेदारीको उद्घोष गरेको हो । ‘हामी यो ऐतिहासिक हिमालय सफाइ अभियानमा सहकार्य गर्दै हाम्रा प्राकृतिक र सांस्कृतिक सम्पदाहरू संरक्षणमार्फत् यो सम्बन्ध अझ सुदृढ बनाउन पाएकोमा हर्षित छौं’ द नेपाल डिस्टिलरिज प्रा.लि.ले विज्ञप्तिमा भनेको छ ।
यस अभियानको थालनी ११ अप्रिल २०२१ मा आरम्भ भइसकेको छ भने ५ जुन २०२१ सम्म कायम रही विश्व वातावरण दिवसको दिन पारेर समापन हुनेछ । यो बृहत्तर प्रयासले विभिन्न ६ वटा हिमालयहरूमा फ्याँकिएका करिब ७०,००० केजी तौल बराबरका उपयोगविहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरू, पालहरू तथा क्यानहरूका फोहरहरू संकलन गर्ने र त्यसलाई काठमाडौंमा ल्याउने लक्ष्य राखेको छ, जहाँ फोहरहरू वर्गीकृत गरी सोही अनुरुप व्यवस्थित गरिने उल्लेख छ ।
