सांसद शाहीलाई अस्पतालमा बन्दी बनाउनुको कारण माग्दै जनमोर्चाले निकाल्यो यस्तो विज्ञप्ति

राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीका सांसद खिम विक्रम शाहीलाई अस्पतालमा बन्दी बनाएर राख्नुको कारण माग गरेको छ । जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति निकालेर अस्पतालमा बन्दीको रुपमा राख्नुको कारणसहित उनको अवस्था सार्वजनिक गर्न सकारसँग माग गरिन् ।

गण्डकी प्रदेशको सरकारकाविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने जनमोर्चाले निर्णय गरिसकेको छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो ।



‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘अहिले अस्पतालमा कसैलाई पनि उहाँसित भेट गर्न दिइएको छैन । राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं’

गण्डकी प्रदेशको संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले पनि उनको अवस्थाबारे जानकारी गराउन माग गरेकी थिइन् । यस्तै उनले सांसद शाही संसदमा उपस्थित नहुँदासम्म अविश्वासको प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न सभामुख समक्ष निवेदन दिएकी थिइन् ।

 

सम्बन्धित समाचार