होम आइसोलेसनमा बसेका संक्रमितलाई डा पाण्डेका १६ सुझाव

कोरोना संक्रमण दर दिनहुँ उकालो लागिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरका अस्पतालमा बेड पाउन मुश्किल छ । सामान्य लक्षण देखिएको धेरै कोरोना संक्रमित अहिले होम आइसोलेसनमा छन् ।

होम आइसोलेसनमा रहँदा कस्ता कुरामा ख्याल पुर्‍याउनुपर्छ भनेर जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले बुँदागत रुपमा यस्तो सुझाव दिएका छन् ।



१.​ थर्मामिटरबाट शरीरको तापक्रम नापिरहनु होला । ९८-९९ डिग्री फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो । १०० डिग्री पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटर (शरीरमा अक्सिजनको मात्रा नाप्ने मेशिन) बाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठो नजिक एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन ‘सी’ २ पटक, जिंक २ पटक, भिटामिन ‘डी’ हप्ताको १ पटक खानुहोला। आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहे वा खोकी लागिरहे, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला। छातीको एक्सरे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरलरएन्टिबायोटिक) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जाँच नगरी घरमा अक्सिजन लिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइँले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचीनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिँदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ रकोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्नुहोला। नआत्तिनु होला ।

१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला। त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।

(डा पाण्डेको फेसबुक पेजबाट साभार)

सम्बन्धित समाचार