प्रदेशसभा सदस्यबाट राजीनामा दिएका एमाले सांसद पाण्डे नेपाली कांग्रेसमा प्रवेश

लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दीर्गनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे । उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए ।

उनले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदैछ ।



पाण्डेले आइतबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । कांग्रेसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट उनले चुनाव जितेका थिए । उनलाई एमालेले प्रदेश सभाको सामाजिक समिति सभापति समेत बनाएको थियो ।

सम्बन्धित समाचार