प्रधानमन्त्रीको विपक्षमा उभिने कांग्रेसको निर्णय, राष्ट्रियसभामा माओवादीसँग गठबन्धन गर्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।

‘आगामी २७ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन्,’ कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘हामीले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट विश्वासको मतको खिलाफमा उभिने निर्णय गरेका छौ ।’



उनले कांग्रेसले आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा संसदको विश्वास नहुने अवस्था निर्माणका लागि पहल गर्ने पनि जानकारी दिए । यस्तै कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रियसभा निर्वाचनमा माओवादीसँग ‘एलाइन्स’ गर्ने पनि निर्णय गरेको छ । राष्ट्रियसभामा खाली भएका सिटमा एक–एक सिट हुने गरी गठबन्धन गर्ने निर्णय गरेको छ ।

‘राष्ट्रियसभामा दुइसिट खाली भएको छ,’ डा महतले भने, ‘आगामी जेठ ६ वाग्मती प्रदेशमा निर्वाचन घोषणा भएको छ । त्यसलगत्तै लुम्बिनीमा पनि निर्वाचन घोषणा हुने छ । त्यसमा एक – एक सिट हुने गरी माओवादी केन्द्रसँग एलाइन्स हुने छ ।’ उनले पार्टीको १४औं महाधिवेशनका लागि सदस्यता छानबिनसहितका आन्तरिक गतिविधि जारी राख्ने निर्णय भएको जानकारी दिए ।

सम्बन्धित समाचार