नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।

पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ ।
कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।
भेटमा कांग्रेसको तर्फबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘विश्वासको मतमा उहाँले सहयोगको अपेक्षा गर्नुभयो हामीले स्वाभाविक रुपमा विपक्षी पार्टी हौं र हामीले तपाईलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं’ बैठकपछि कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भनेका छन् ।
उनका अनुसार कांग्रेस नेताहरुले कोरोना महामारीमा बेड, अक्सिजन नपाएर जनता पीडामा रहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि सँगै लडेका दलहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । साथै विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने प्रष्ट पारेको उनले बताए ।
