
आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लामो छलफल गरेका छन् । राजनीतिक सरगर्मी बढेसँगै देउवासँग छलफल गर्न पुगेका उनीहरुले पौने दुई घण्टा छलफल गरेको बताइएको छ । जसपा स्रोतका अनुसार लामो छलफल गरेर उनीहरू भर्खरै मात्र देउवा निवासबाट फर्किएका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा रहेका ठाकुर र महतो एकाएक नयाँ सरकार गठनको लागि देउवालाई सघाउने निष्कर्षमा पुगेका छन् । जसपाकै अर्का अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा निरन्तर लागिरहेका थिए । जसपामा भट्टराई र यादवको लाइनमा बहुमत बन्दै गएपछि ठाकुर र महतो पनि ओलीको विकल्प खोज्ने निष्कर्षमा पुगेका हुन् ।
देउवासँगको भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा सुरेन्द्रकुमार झाले जानकारी दिए । विश्वासको मतमा तटस्थ बसेपनि अविश्वासको प्रस्तावमा भने देउवालाई सघाउने बचन राजपाले दिएको छ ।
देउवानिवासबाट निस्किएका ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई भेटेन बालुवाटार पुगेका छन् ।

