नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ वैशाख ।

नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। आइतबार साँझ बसेको उक्त समूहका सांसदहरुको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।
तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिने नै आफूहरुको अन्तिम विकल्प हुने उक्त समूहका सांसद बताउँछन्। नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरु संसद सचिवालय सिंहदरबारमा भेला भइरहेको बताइन्। सांसदहरु आउने क्रम जारी रहेकाले छलफल पछि के गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। नेपाल-खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिए प्रधानमन्त्री ओली अल्पमतमा हुनेछन्। यस्तोमा ओलीले विश्वासको मत पाउने छैनन् र पदमुक्त हुने अवस्था बन्नेछ।

