गण्डकीमा मुख्यमन्त्रीको छिनोफानो आज, विपक्षीको जुटेन बहुमत, गुरुङ नै मुख्यमन्त्री !

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ। यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए। सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी हुन्। यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ। अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ।



त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन्। विपक्षी दलले मंगलबार साँझसम्म पनि बहुमत पुर्‍याउन सकेका छैनन्। आज दिनभरमा कुनै चमत्कार हुन सकेन भने पुनः गुरुङ नै मुख्यमन्त्री हुने देखिन्छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकारको बनाउने प्रयास गरिरहेका भए पनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका दुई संसदले साथ छाडेपछि हलो अड्किएको छ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने बताएका छन्। उनी पार्टीको निर्णयविपरीत उभिएका हुन्। ६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपा र स्वतन्त्रबाट १र१ सांसद छन्। नयाँ सरकार गठन गर्न ३१ सांसद चाहिन्छ।

सम्बन्धित समाचार