नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन्।
यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ। यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ। देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बन्नुपर्ने भट्टराईको प्रस्ताव छ।
साथै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने उनी बताउँछन्। बुधबार बिहान ट्वीट गर्दै भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गरेका छन्। भट्टराईको यो प्रस्तावले फेरि प्रधानमन्त्री बन्न कम्मर कसेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीलाई निराश बनाएको छ ।
साथै उनले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सारेका हुन्। भट्टराईको दल जसपाभित्र वैकल्पिक सरकार गठनमा विवाद देखिएको छ। अध्यक्ष महन्थ ठाकुर पक्ष नयाँ सरकार बनाएर जाने पक्षमा छैनन्।

