नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।

कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त छ । सरकार लाचार छ । दैनिक सङ्क्रमण दर र मृत्युको ग्राफ कहालीलाग्दो अवस्थामा बढिरहेको छ । अक्सिजनको अभावमा सङ्क्रमितहरू असामयिक मृत्युवरण गर्न बाध्य छन् । यस्तो अवस्थामा डलरको खेती गर्ने भनेर चिनिने गैर सरकारी संस्थाहरूको भूमिका कतै पनि देखिएको छैन ।
गैर सरकारी संस्थाहरूको अभिलेख राख्ने र नियमन गर्ने निकाय समाज कल्याण परिषद्का अनुसार अहिले देशमा १२०० जति एनजीओहरू सक्रिय छन् तर कोरोनाको यस महाविपत्तिमा भने उनीहरूको सक्रिय भूमिका देखिएको छैन । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि एनजीओहरूलाई सहयोगका लागि अपिल पनि गरिसकेको छ ।
समाज कल्याण परिषदका अनुसार गैर सरकारी संस्थाहरू (एनजीओ) को वार्षिक बजेट १८ अरबको हाराहारीमा छ भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू (आइएनजीओ) को १९-२० अरबभन्दा बढी छ । नेपाल र नेपालीहरूलाई परेको यस विपत्तिका बेला ती संस्थाहरूले आफ्नो बजेटको केही रकम मात्र अक्सिजन र कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न लगाउने हो भने धेरैको जीवन बच्न सक्ने थियो ।
यस सम्बन्धमा गैर सरकारी संस्था नेपालका अध्यक्ष जितराम लामालाई जिज्ञासा राख्दा उनी देखिने अवस्थामा नभए पनि कोरोना कहरको न्यूनीकरणका क्षेत्रमा काम भइरहेको बताउँछन् । उनी थप्छन् ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने आइएनजीओहरूसँग पनि समन्वय गरिरहेका छौं, केही दिनमा नतिजा देखिने छ ।’

