
नेकपा माओवादी केन्द्रले वाग्मती प्रदेशअन्तर्गत हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा खिमलाल देवकोटालाई मतदान गर्न आफ्ना मतदाताहरुलाई निर्देशन पनि दिएको छ ।
‘वाग्मती प्रदेशबाट राष्ट्रियसभाका लागि प्रतिनिधिन्व गर्ने सदस्य रामबहादुर थापा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विगतमा निर्वाचित भएको कुरा अवगत नै छ । यसबीचमा निज रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानी प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधानविरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेकोले उक्त स्थान खाली हुन गयो,’ माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वाग्मती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटाका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् । निर्वाचनमा देवकोटाले कलम चुनाव चिह्न पाएका छन् ।
‘उक्त खाली स्थानमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका अन्य पार्टीहरुको समर्थन र सहयोगमा साझा उमेदवारको रुपमा डा खिमलाल देवकोटाले उमेदवारी दिनुभएको छ । संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले वाग्मती प्रदेशसभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख, अध्यक्ष र उपप्रमुख,उपाध्यक्षलाई कलम चुनाव चिह्नमा मतदान गरी डा खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वाग्मती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’
यही जेठ ६ गते हुने उपनिर्वाचनमा बादल एमालेका तर्फबाट उमेदवार बनेका छन् ।

