
नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलले पार्टीलाई एकताबद्ध रुपमा अगाडि लैजानका लागि सबैसँग सहयोग र सद्भाव राख्न लागि आग्रह गरेको छ । मंगलबार बसेको कार्यदलको पहिलो बैठकले नेता कार्यकर्तालाई यस्तो आग्रह गरेको हो ।
‘कार्यदलको कार्यक्षेत्र कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको छ’, बैठकपछि नेता माधवकुमार नेपाल समूहबाट कार्यदलको नेतृत्व गरेको नेता भीम रावलले भने, ‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पङ्क्तिलाई एकतावद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सद्भाव कायम गर्न आग्रह गरेको छ ।’
बैठकले पार्टी पङ्क्तिलाई अविश्वास, असहयोग र अन्तरविरोध गर्ने कामबाट टाढा रहनका लागि आह्वान समेत गरेको बताए । बैठकमा कार्यव्यस्तताले कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित भएको उनले बताए । बैठक भोलि बुधबार फेरि बस्नेछ ।
एमालेको विवाद चर्किँदै गएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको सहमतिका कार्यदल गठन भएको थियो। कार्यदलले २०७५ जेठ २ गतेबाट पार्टीलाई सञ्चालन गर्नेबारेमा सहमति बनाउने भएको छ ।

