
कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रूपमा हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपङ्क्तिमा खटिएका ‘कोभिड वारियर’ हरूलाई हस्तानान्तरण गरिसकिएको एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराइएको छ ।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रपङ्क्तिमा खटिएका दुई समाजिक संस्थामार्फत केही सामाग्रीहरू हस्तानान्तरण गरिसकेका छन् भने केही समाग्री एकदुई दिनमै हस्तानान्तण गरिने विज्ञप्तिमा उल्लेख छ ।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए । उनीहरूले यस मानवीय संकटमा अधुरा र उधारो बाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तिका लागि आफूहरू सक्रिय रहेको बताए ।
यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शैयामा ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ ।
दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामाग्री हस्तानान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ । कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशनमार्फत सहयोग हस्तानान्तरण गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णालली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानान्तरण गर्दै छ । यस्तै रुपन्देहीमा अग्रपङ्क्तिमा खटिएका कोभिड वारियरका लागि ५० हजार मास्क पनि उपलब्ध गराइएको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एकसय थान सिलिण्डर हस्तानान्तरण गर्दैछ ।
साथै, यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेको छ भने यसअघि नै यस समूहले वीर अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयम्सेवामा खटिएका हामी नेपालका स्वयमसेवकका लागि २५० वटा पीपीइ सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क पनि दिइसको उल्लेख छ ।
यस समूहले भनेको छ– ‘अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामग्री दिएका हौं । तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामग्री हस्तान्तरण गरेका हौं ।’

