नवकान्तिपुर संवाददाता
काठमाडौं
मुलुकमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमप्रति त्रिवि प्राध्यापक संघको गम्भीर ध्यानार्कषण भएको जनाइएको छ । त्रिवि प्राध्यापक संघले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी मुलुकमा हाल विकसित राजनैतिक घटनाक्रमप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा अगाडि भनिएको छ– प्राज्ञिक जगत् जहिले पनि लोकतन्त्रको स्थिरताबाट नै मुलुकको सर्वाङ्गिण विकास हुन्छ भन्ने मान्यता राख्ने वर्ग हो । यो वर्गले विगतमा विभिन्न लोकतान्त्रिक आन्दोलनहरूमा अग्र भागमा रही स्वतन्त्रता, मानव अधिकार, मौलिक हक र लोक कल्याणकारी राज्य स्थापनाका लागि सक्रियताका साथ भाग लिँदै आएको कुरा सर्वविद्धितै छ । साथसाथै मुलुकमा लोकतन्त्र ,बहुलवाद, र कानूनी शासनको संरक्षण र सम्बद्र्धनका लागि विगतदेखि नै विभिन्न समयमा भिन्न भिन्न फोरमहरूमा यस संघले बारम्वार सुझाव, सचेतना र खवरदारी गर्दै आएको पनि हो । विधिको शासन र कानूनको पालनाबाट नै नीतिगत स्थिरता आउने, उच्च शिक्षाले गुणस्तर प्राप्त गर्ने, अर्थतन्त्रले अग्र गति लिने, मुलुकमा अमनचयन कायम भई जनमानसमा मेलमिलाप र भाइचारा कायम हुने जस्ता विश्वब्यापी मान्यतालाई कसैले पनि भुल्न नहुने कुरामा त्रिवि प्राध्यापक संधको अडान रहिआएको छ ।
यसै सम्बन्धमा गत सालदेखि नै कोभिड– १९ को महामारीबाट देश आक्रान्त रही खोपको उचित वितरण र व्यवस्थापन हुन नसकी देशवासीहरू दिनानुदिन हायल कायल भएको अवस्थामा सवै तह तप्काका मानिसहरू एक भई कोभिड– १९ को विरुध्दमा प्रस्तुत हुनु पर्नेमा वर्तमान सरकारबाट हठात प्रतिनिधि सभा रातारात भङ्ग गरी एकाएक पुनः मध्यावधि निर्वाचन धोषणा हुन पुग्नुलाई यस संधले दुर्भाग्य ठानेको छ; जसबाट हालसम्म प्राप्त लोकतान्त्रिक गणतन्त्र ,बहुलवाद र सङ्धीयता जस्ता अग्रगामी उपलब्धिहरू जोखिममा परी वर्तमान संविधान र शासन प्रणालीलाई नै क्षत विक्षत गराउने र मुलुकलाई बलात् द्वन्दमा धकेल्ने प्रक्रिया सुरू भएको त हैन ? भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
संघका सभापति प्राडा वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिको अन्त्यमा भनिएको छ– तसर्थ हाल देखिएको राजनैतिक घटनाहरूमा लोकतन्त्रको मूल्य मान्यता, बहुलवादको सही प्रयोग र मानव अधिकारको विश्वव्यापी अवधारणामा अडिग रही संयमताका साथ जिम्मेवारीपूर्वक संविधानको कार्यान्वन र पालनामा जोड दिई सचेत रहन त्रिवि प्राध्यापक संघ सवै राजनितिक दल, संध–संस्था र जनमानसमा अनुरोध गर्दछ ।