उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो ।

शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ । उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।



बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय पनि गरेको छ । ‘नयाँ निर्णय जेठ १४ गते शुक्रबार विहान देखि कार्यान्वयनमा आउनेछ’, उनले भने। यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि जेठ १३ गते मध्य रातिदेखि सकिँदै थियो ।

उनका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको छ । काठमाडौं जिल्ला प्रशासनले सोमबार नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइसकेको छ ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

सम्बन्धित समाचार