नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफुलाई सर्वोच्च अदालतले न्याय गर्छ भन्ने विश्वास रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताए ।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सडक आन्दोलनमा जान नसकिएको बताए ।
‘संविधानमाथि बलात्कार भएको छ । हस्तक्षेप भएको छ । यो सरकारले संविधानको बर्खिलापमा गएर काम गरेको छ । हामी त्यही कदमलाई सच्याएर संविधानको बाटोमा देशलाई हिडाउने प्रयत्न गरिरहेका छौँ,’ देउवाले भने, ‘साथीहरु सडकमा जाऔँ, आन्दोलन गरौँ भनिरहेका छन्, मैले रोकेर राखेको छु, यस्तो बेला जनताको जिऊ ज्यानलाई जोखिममा पार्नुहुदैन । जनताको जीवन ठूलो कुरा हो । जीवन रक्षा पहिलो कुरा हो ।’
देउवाले यस्तो बेला मिडिया जगतलाई सहयोग गर्न आग्रह गरे । उनले पार्टी १४ औँ महाधिवेशनको तयारीमा रहेकाले आफ्नो कारणले महाधिवेशन भएन भन्ने कुरा कुनै हालतमा आउन नदिने बताए ।

