नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।

नेपाली कांग्रेसकाले दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यानव्यन नगर्न सरकारलाई खबरदारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार एक वक्तव्य जारी गर्दै सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन अवस्थामा रहेकाले दूरगामी निर्णय लिन नहुने बताएका हुन् ।
देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसीन रहेको पनि आरोप लगाएका छन् । ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसीन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिँदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु,’ देउवाले बिहीबार वक्तव्य जारी गर्दै भनेका छन् ।
वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड १९ को रोकथाम र उपचारमा केन्द्रित हुनुपर्ने देउवाको भनाइ छ । संक्रमणको लहर शहरबाट ग्रामीण र दुर्गम क्षेत्रमा समेत फैलिरहेकोतर्फ सचेत गराउँदै देउवाले स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था र सरकारको उदासिनताका कारण ग्रामीण क्षेत्रमा उपचार नभएर हाहाकार मच्चिएको पनि बताएका छन् ।
‘देशैभर खासगरी अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन सकेको छैन,’ देउवाले भनेका छन्, ‘सरकारको अकर्मण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको छ । तर, निषेधाज्ञाको असर पनि हचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन ।’

