नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ जेठ ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई मात्र सुटुक्क खोप दिइएपछि सर्वसाधारणले विरोेध गरेका छन् । सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिसरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन् ।
पार्टी समर्थक र चुनिएका उद्योगपतिलाई गुपचुपमा भारतमा उत्पादन भएको कोभिसिल्डको खोपको दोस्रो खेप लगाउन जनस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो डोज कोभिसिल्ड लगाउन पर्खाइमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरेका हुन् ।
नेकपा एमालेका कार्यकर्ताले सिनेमा हलको गेटमा ताल्चा लगाएर ‘आफ्ना मान्छे’ पसाउन थालेपछि सर्वसाधारणले नाराबाजी गर्दै विरोध गरे । मन्त्रीको रोजाइमा परेका केही उद्योगी–व्यवसायी गाडी लिएर सिटी सिनेमा हलको गेट पुगेका थिए । व्यापारीका निजी गाडीको लर्को लागेपछि स्थानीयवासीले चासोसाथ सोधीखोजी गरेपछि खोप लगाउन लागेको खुलेको थियो ।

