नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।

सोमबार हुने लुम्बिनी प्रदेशमा उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदान हुनु एक दिनअघि उक्त निर्णय गरेको हो । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका जसपाबाट मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पूरक मतदाता नामावलीमा समावेश गर्ने जानकारी दिएको छ । यससँगै उनीहरुले मतदान गर्न पाउने भएका हुन् । यसअघि निर्वाचन आयोगले उनीहरूको नाम समावेश गरेको थिएन ।
माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका चन्द्रबहादुर खड्का कारबाहीमा परेका थिए । खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि उपनिर्वाचन हुँदै छ । एमालेले खड्कालाई नै उम्मेदवारमा उभ्याएको छ। पदमुक्त भएका खड्कासँग दल त्याग गरेकै उम्मेदवार भिड्दै छन् । उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनका दृगनारायण पाण्डे छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।
चारजना सांसदको नामावली समावेश भएसँगै प्रदेश सभाबाट मतदाता ८३ पुगेका छन् । स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी २१७ मतदाता छन् । २०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो । तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो ।
विपक्षी दलको साझा उम्मेदवार बनेका कांग्रेसका पाण्डेले जित निकाल्ने देखिएको छ। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ । विपक्षी गठबन्धनका पाण्डे स्थानीय तहका मतदाताबाट विजयी हुने निश्चित देखिएको हो ।

