राजेन्द्र महतोको नेतृत्वमा भोलि जसपा सरकारमा सहभागी हुँदै, पाउने भयो ८ मन्त्री र २ राज्यमन्त्री

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।

‘सरकारमा जाने कुरा निश्चित हो, भालिसम्म मन्त्रिपरिषद् विस्तार हुन सक्छ’ भण्डारीले भने । ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुपमा विभाजन हुनेछ। भण्डारीले सकभर पार्टी विभाजन नहुनेगरी सरकारमा जानुपर्ने सुझाव आएकोले एकदुई दिन कुरेको दाबी गरे।



जसपालाई सरकारमा ८ वटा मन्त्रालय दिने सहमति जुटेको अर्का सांसद प्रमोद साहले बताए। ‘८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर हामी सरकारमा जान्छौँ,’ साहले भने, ‘राजेन्द्र महतोको लिडरसिपमा सरकारमा जाने तयारी भएको छ। तर, अन्तिममा लिडरसिप परिवर्तन पनि हुनसक्छ। त्यसमा मन्त्रालयको जिम्मेवारीले अर्थ राख्छ।’

यादव पक्षबाट ठाकुर समूहतर्फ लागेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रुही नाज, कलुदेवी विश्वकर्मा र रेनुका गुरुङले मन्त्रीमा दाबी गरेका छन्। उनीहरु मन्त्रीको अफर पाएपछि ठाकुर पक्षमा लागेको स्रोतको भनाइ छ। ठाकुरनिकट स्रोतका अनुसार विघटित संसदको सदस्य नरहेका उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमद साह, वृषेशचन्द्र लालले पनि मन्त्री बनाउन लबिङ गरेका छन्।

राजेन्द्र महतो, चन्दा चौधरी, अनील झा, राजकिशोर यादव, प्रमोद साह, चन्द्रकान्त चौधरी, शरतसिंह भण्डारी र अकवाल मियाँको पनि मन्त्रीमा दाबी छ। जसपाको संसदीय दलमा ठाकुर–महतो पक्षको बहुमत छ । उनीहरुको पक्षमा २० सांसद छन्।

सम्बन्धित समाचार