नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।

राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि आज लुम्बिनी प्रदेशमा आयोजित आज उपनिर्वाचनअन्तर्गत अहिले मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा रहेका मतदान केन्द्रमा मतदान भइरहेको हो। मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ।
यसअघि लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेका कारण पार्टीले उनलाई दल त्यागको कारबाही गरेपछि त्यो पद खाली रहेको हो। त्यही रिक्त स्थान पूर्तिका लागि आज उपचुनाव भइरहेको हो।
मतदान सकिएलगत्तै मत गणना सुरु गर्ने र परिणाम आजै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि बागमती प्रदेशमा भएको उपनिर्वाचनको नतिजा पनि त्यही राति सार्वजनिक गरिएको थियो।
जुन निर्वाचनमा एमालेका उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्दै विपक्षी दलको समर्थनमा उम्मेदवार बनेका एमालेकै डा खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका छन्। माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका कारण यसअघि राष्ट्रिय सभा सदस्य रहेका थापा कारबाहीमा परेपछि उपनिर्वाचन गरिएको थियो।
बागमती प्रदेशमा जस्तै लुम्बिनीमा पनि एमालेले माओवादी केन्द्रले निष्कासन गरेका नेता चन्द्रबहादुर खड्कालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका नेता दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन्। यसअघि एमाले नेता पाण्डे पनि गत वैशाखमा मात्र लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका हुन्।
खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको छ भने पाण्डेलाई जसपाको उपेन्द्र यादव-डा बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

