संसद् विघटनबारेको सुनुवाइमा पुरानै संवैधानिक इजलासले पायो निरन्तरता

अधिवक्ताहरुको विभिन्न प्रश्न र चर्को विरोधका बाबजुत् प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि रिटको सुनुवाइ हुने सर्वोच्चले जनायो।

इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ सदस्य छन्। न्यायाधीश श्रेष्ठ र केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएका छन्। आइतबारको सुनुवाइमा प्रधानन्यायाधीशले यसबारे न्यायाधीश केसी र श्रेष्ठले नै निर्णय गर्ने बताएका थिए।



गत शुक्रबारदेखि संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टिकाराम भट्टराईले न्यायाधीश केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि संवैधानिक इजलासमा रिट निवेदनमाथि सैद्धान्तिक छलफल नै सुरु हुन सकेको थिएन।

सम्बन्धित समाचार