नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को पुर्नगठनमा जुटेका छन् । जनता समाजवादी पार्टी र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ । जसपाको महन्थ ठाकुर समूह पार्टी फुटाएरै सरकारमा सहभागी हुने तयारीमा छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेका कारण पदमुक्त भएका रामबहादुर थापा बादलले पुनः मन्त्री बन्ने प्रयास थालेका छन्। जेठ ६ गते सर्वोच्च अदालतले सांसद नभएकाहरुलाई मन्त्री बनाउने कार्य असंवैधानिक भएको भन्दै तत्काल काम कारबाही नगर्नरनगराउन अन्तरिम आदेश दिएपछि बादलसहित ७ मन्त्री पदमुक्त भएका थिए।
माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा तामाङको मन्त्री पद गएको थियो। पार्टी परित्याग गरेपछि बादल, भट्ट, रायमाझी, साह र चौधरीलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो। मणि थापा र दावा तामाङ सांसद थिएनन्। उनीहरु सबैलाई ओलीले मन्त्री बनाएपछि सर्वोच्चमा रिट परेको थियो। बादल राष्ट्रिय सभाको उपचुनावमा समेत पराजित भएका थिए। यो मुद्दा अन्तिम किनारा लाग्न बाँकी छ।
तर, यहीबीचमा जसपाको ठाकुर समूहलाई प्रधानमन्त्री ओलीले सरकारमा सामेल गर्ने भएका हुन्। यही बेला बादलले पनि सकभर आफैँ र आफू नभए निकटस्थलाई मन्त्री बनाउने प्रयास थालेका हुन्। सर्वोच्चको आदेशपछि रिक्त भएका ७ वटै मन्त्रालयमा ठाकुर समूहले दाबी गरिरहेको छ। तर, ओलीले तत्कालका लागि जसपालाई ५ वटा मन्त्रालय दिने र बाँकी २ मन्त्रालय पूर्वमाओवादीलाई दिन चाहेका छन्।
पूर्वमाओवादी तर्फबाट भट्ट र रायमाझीलाई मन्त्री बनाउने तयारी गरिएको छ । जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डाारी, अनिलकुमार झा, राजकिशोर यादवको नाम चर्चामा रहेको छ ।

