नवकान्तिपुर संवाददाता
काठमाडौं
एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन्।
‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन्। उनले पुरानो कमिटी ब्युँताउँछु भन्नु पनि त्यही फन्डा हो। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन्’, नेता नेपालले बुधबारको एक भर्चुअल बैठकमा भने। उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताए। ‘हामी धेरै अघि बढिसकेका छौं, ओलीको चालबाजीमा फस्नेवाला छैनौं। ओलीले एकपटक होइन, धेरै पटक धोका दिएका छन्।
यही अवस्थामा धेरै संवाद गर्नुको कुनै अर्थ छैन। जेजे गर्नु छ तीन दिनभित्र टुंग्याउन म साथीहरूलाई आग्रह गर्छु’, नेपालले भर्चुअल बैठकलाई सम्बोधन गर्दै भने। ओली समूहले गरेको कारबाहीको नाटक सबैभन्दा घातक भएको नेता नेपालको भनाइ थियो। ‘संवाद गर्छु भन्ने कारबाही गर्ने, संवाद गर्दागर्दै संसद् विघटन गरेर झन् लोकतान्त्रिक मूल्य र संविधानमाथि नै प्रहार गर्ने, यस्तो पनि संवाद गर्ने तरीका हो’, उनले भने।
आफू पक्षधर जनसंगठनको भर्चुअल बैठकमा नेपालले पाँचवटा विषय उठान गरेका थिए। ओलीले सबैभन्दा पहिला संसद् विघटन गर्नु गल्ती भएको भन्दै आत्मआलोचना गर्नुपर्ने, पार्टीभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व असफल भएको स्वीकार गर्नुपर्ने, संवादका नाममा आलटाल गर्दै बस्न नहुने र नेताहरूबीच आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनले उठान गरेका विषय थिए। तेस्रो र चौथो पुस्ता आफ्नो पक्षमा रहेकाले पार्टी पुनर्गठनमा आत्मविश्वास बढेको भन्दै उनले अझै पनि ओली ‘फुटाऊ र राज गर’ भन्ने नीतिअनुसार चलेको टिप्पणी गरे।
‘हिजो जुन कुरा आएको छ २०७२ जेठ २ मा फर्काउँछु भन्ने त्यो नक्कली कुरा हो। फर्काउने हो भने भटाभट फर्काए भइहाल्छ नि, किन यसो गर्छु भन्नुपर्यो रु नवौं महाधिवेशनको म्यान्डेटअनुसार अघि बढे पुग्छ। पार्टीलाई नीति र विधिमा चलाए हुन्छ। हाम्रा विषय ठूला थिएनन् तर ओलीले जे हर्कत गरे त्यो क्षमायोग्य छैन। उनले संसद् विघटन गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई नै धराशयी बनाए, संविधानको मर्यादा नै उल्लंघन गरे’, नेपालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने। बैठकमा नेपालले ओलीले देखाएको ‘ललीपप’ मा नअल्मलिने स्पष्ट पारेका थिए।
नेपालले आइतबारदेखि निरन्तर भर्चुअल बैठकमार्फत जनवर्गीय संगठनका नेताहरूसँग सुझाव संकलन गरिरहेका छन्। बुधबार पनि नेपालले तीन सयभन्दा बढी नेता कार्यकर्तासँग संवाद गरेका थिए। उनले आन्दोलनको क्रममा धेरै नेताहरूको आउनेजाने क्रम भइरहन्छ, यहाँ यस्तो वा त्यस्तो भनेर आत्तिने काम छैन भन्दै बैठकमा सहभागीलाई नआत्तिन आग्रह गरेका थिए। सहभागीले ओलीको प्रलोभनमा नफसी नयाँ दल बनाउन सुझाव दिएका थिए। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएपछि ओली अप्ठेरोमा परेको र त्यही कारण विभिन्न बहानाबाजी गरेको आशंका बैठकका सहभागीले व्यक्त गरेका थिए। बैठकमा अखिल नेपाल महिला संघ, अनेरास्ववियुलगायतका संगठन प्रमुखले धारणा व्यक्त गरेका थिए।
यसै बीच विवाद सुल्झाउन सक्रिय नेताहरूले बुधबार पनि एकआपसमा संवाद गरेका छन्। नेपालले भने उनीहरूको सक्रियता व्यक्तिगत भेटघाट भएको बताएका थिए। बुधबार ईश्वर पोखरल र योगेश भट्टराईबीच एक घण्टा कुराकानी भएको थियो भने अन्य नेताहरूबीच पनि संवाद जारी छ। उता ओली पक्षले बुधबार बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित गरेको छ। ओली पक्षले पार्टी एकताका लागि भरपुर प्रयास गर्ने भन्दै बुधबारको स्थायी कमिटी बैठक बिहीबार सारेको नागरिकले लेखेको छ ।