आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि देशका धेरै स्थानमा पानी पर्ने र पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नम्बर २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।



यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबारसम्मै वर्षाको सम्भावना छ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र विभिन्न प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले दैनिक तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ भने २४ घण्टाका लागि अपनाउनुपर्ने चेतावनी पनि जारी गर्छ। यसै क्रममा आज बिहान ६ बजे जारी आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ: देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित समाचार