नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ । उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं’ सीडीओ पराजुलीले भने, ‘हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’
अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन् । साथै, प्रशासनले थप आदेश पनि जारी गर्ने तयारी गरेका छन् ।

