नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठकमा गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका पृथ्वीसुब्बा गुरूङले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता बचाउनुपर्ने बताएका छन् ।
‘माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता जोगाउनुपर्छ । नेकपा छिन्नभिन्न हुँदाको उत्पादनका रूपमा गठबन्धन अगाडि आएको हो । एमाले एकताबद्ध हुनेबित्तिकै त्यो स्वतः कमजोर हुन्छ,’ गुरुङको भनाइ एक सदस्यले उद्धृत गरे, ‘नेकपा विभाजन हुँदा म सिकार भएँ, मुख्यमन्त्री पद पनि गुम्यो, एमाले विभाजन हुँदा बाँकी प्रदेशका सरकार पनि ढल्छन् । माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर भए पनि विवाद मिलाऔँ ।’
गुरूङले नेपाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने आवाज उठाए पनि ओलीले कुनै जवाफ नदिएको स्रोतको जिकिर छ । ‘अध्यक्ष ओली मात्र होइन, अरू नेताहरू पनि बोलेनन् । पार्टी एकता नगर्ने हो भने मौनता ठीक छ । होइन भने त्यहाँसम्म पुगेर भए पनि पार्टी जोगाउनुपर्ने छ । नत्र अझै क्षति हुनेवाला छ,’ गुरूङ निकट स्रोतले भन्यो ।

