नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

जातीय भेदभाव तथा छुवाछुतको आरोपित सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रूपा सुनारलगायतलाई कारबाहीको माग गरेकी छिन् । बुधवार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रूपा सुनारमाथि आफूले कुनै प्रकारको जातजाति सम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरे पनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरी आयोगमा निवेदन दिएकी छिन् ।
उनले रूपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरिन् । असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, आपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीविना फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरीत भएकाले कारबाही गरिनुपर्ने बताइन्।
उनले निवेदनमा भनेकी छिन्, ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लङ्घन गरी र विना पीसीआर रिपोर्ट खुलेआम आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको । रूपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर विना मेरो फोन रेकर्ड गरी त्यही प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिइ गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहीपूर्वक थुनाएको ।’
यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छिन् । घरधनी श्रीमान् र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारिन् । निवेदनमा उल्लेख छ, ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनि झुटा आरोप लगाइ जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको । मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैँले म कामीको छोरी हो भनी देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको ।’
सरस्वती प्रधानले सञ्चारकर्मी रूपा सुनारलाई जातीय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तीन दिन हिरासत बसेर प्रधान छुटेकी थिइन् । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छिन् ।

