‘प्रधानमन्त्रीले संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजे’

राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताएका छन् । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले हामीलाई संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन आवश्यक नभएको उल्लेख गरे ।

उनले संसद विघटन गर्नु संविधान विपरितको काम रहेको बताउँदै प्रधानमन्त्रीले संसद मात्र नभई कम्युनिष्ट आन्दोलन नै विघटन गर्न खोजेको आरोप लगाए । सांसद शर्माले प्रधानमन्त्रीले अब आत्मालोचना गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीको दम्भका कारण नेकपा फुट मात्र नभई अहिले स्वयं एमाले पनि फुटको संघारमा पुगेको बताए ।
उनले अध्यादेशबाट मुलुक चलाउने हो भने देश निर्दलीयता महेन्द्र पथमा जाने बताए । उनले प्रधानमन्त्रीले देशका लागि हित गर्न नसकेको उल्लेख गर्दै संसदीय सर्वोच्चतालाई आत्मसात गर्न आग्रह गरे । सांसद शर्माले अहिले देशमा सबैभन्दा ठूलो प्रतिगमनको संकट रहेको बताउँदै पार्टीभित्रको भिन्न मतको सम्मान गर्न नसक्दा पार्टी र लोकतन्त्र कमजोर बनेको उल्लेख गरे ।



उनले भने– ‘वर्षौदेखि सँगै लडेका जेल नेल भोगेका सहकर्मीलाई निषेध गर्ने काम भएको छ । आफ्नो पार्टीभित्र आफ्नो गुटलाई लिएर मात्र हिँड्ने पद्धतिले लोकतन्त्र तहसनहस भएको छ ।’ उनले अहिले नेपालको प्रणाली प्रधानमन्त्रीय प्रणाली कि राष्ट्रपतीय प्रणाली हो भन्दै प्रश्न गरे । उनले अहिलेको प्रणाली प्रधानमन्त्रीय र राष्ट्रपतीय प्रणाली दुबै सर्वेसर्वा हुने प्रणाली नभएको बताए । अहिलेको सर्वेसर्वा प्रणाली संसदीय प्रणाली रहेको बताउँदै संविधान बनाउने बेला प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणालीलाई सर्वेसर्वा बनाउन आग्रह गर्दा त्यो बेला नबनाइएको उल्लेख गरे ।

सम्बन्धित समाचार