चीनबाट पहिलो खेपमा ८ लाख डोज खोप नेपाल आइपुग्यो

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। निगमका अनुसार चालकदलका १२ सदस्यसहित विहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो।

नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोप मध्ये पहिलो खेप शुक्रवार आइपुगेको हो। नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ।



पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। बाइडबडी ए ३३० जहाजबाट विहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन सुरु गरेको हो। अब असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।

शुक्रबारसहित गरि नेपालमा अहिलेसम्म ५० लाख ४८ हजार डोज खोप आएको छ। यसअघि ४२ लाख ४८ हजार खोप नेपाल ल्याइएको थियो। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।

सम्बन्धित समाचार