नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।

सरकारी गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् । महिला मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्ने जंगलमा फेला परेका थिए ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले विहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो । पक्राउ परेकी महिलाले पैसा लिएर सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान दिएकी छन् । ‘ती महिलाले पैसा लिएर सहमतिमै यौन गतिविधि गरेको बयान दिएकी छन्, महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने ।
प्रहरीका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले दिएका छन् ।
ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन् भने अर्का एकजना कर्मचारी नभएको बताइएको छ । प्रहरीले तिनै जनालाई सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

