नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।

चितवनमा असार १४ गतेदेखि हराइरहेकी बिना सापकोटा नारायणी नदी किनारतर्फ जाँदै गरेको सीसीटीभी फुटेज भेटिएको छ । नदी किनार नजिकै रहेको एक पसलको सीसीटीभी फुटेजमा राति ८ः४१ मा एक्लै देखिएको चितवन प्रहरीले जनाएको छ ।
अहिले नदी आसपासका उनको खोजीका लागि प्रहरी, आफन्त र स्थानीय पुगेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नवलपुरस्थित घरबाट प्रेमी भनिएका प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी थिइन् । सो दिनदेखि उनी हराइरहेकी छन् ।
बिनाको मोबाइल सेट भने प्रवेशको साथबाट फुटेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिएको छ । छोरी हराएपछि असार १८ गते बुबा जयश्वरले प्रवेशविरुद्ध उजुरी दिएका थिए । घटनाको अनुसन्धान भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

