नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।

नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका छन् । विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग भेट गरेका हुन् । उनीहरुबीच ललितपुरको धापाखेलस्थित लेखराज भट्टको निवासमा करिब ३ घण्टा छलफल भएको थियो ।
भेटमा कम्युनिस्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइन्छ । पूर्वमाओवादी नेताहरुले माओवादी घटक छिन्नभिन्न हुँदा दुःख पाइएको गुनासो गरेका थिए । पछिल्लो केही दिनयता विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका थिए ।

