डम्पिङ साइटमा भेटियो नवजात शिशुको शव

नुवाकोटको ओखरपौवा सिसडोल डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ । काठमाडौंबाट फोहोर मैला बोकेर गएका ट्रिपरहरूले विभिन्न समयमा मरेका जनावर गाई, गोरु तथा कुकुरहरू आदि लगेर फाल्ने गरेको र त्यसै क्रममा हालै नवजात शिशुको शव पनि सिसडोलमा फालिएको अवस्थामा भेटिएको हो ।

मानव शव नै डम्पिङ साइटमा भेटिएको यो पहिलो घटना भएको स्थानीय सीताराम घिमिरे बताउँछन् । घिमिरे मानव शव नै डम्पिङ साइटमा भेटिनु महानगरपालिकाको गम्भीर लापर्वाही भएको गुनासो गर्छन् । यस विषयमा जिज्ञासा राख्दा काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठ भन्छन् ‘यो अनुसन्धानको विषय हो । प्रहरी अनुसन्धान गर्दैछ । यस्ता अमानवीय घटना र त्यसले स्थानीयबासीमा पार्ने प्रभावप्रति महानगरपालिका सचेत छ ।’



स्मरणीय छ– विगतमा स्थानीयबासी र महानगरपालिकाबीच सिसडोलमा फोहरमैला डम्पिङ गर्ने सम्बन्धमा मम्झौता हुँदा फोहोर–मैलालाई कुहिने र नकुहिने छुटयाएर मात्र डम्पिङ साइट पठाउने, कुनै पनि मरेका चौपायहरू तथा मानव शवहरू फोहोर मैलामा मिसाएर सिसडोल नलाने र थुपारेको फोहोरलाई व्यवस्थित र वैज्ञानिक तवरबाट दुर्गन्ध नफैलिने गरी बिसर्जन गर्ने आदि लिखित सहमति भएको थियो । तर महानगरले त्यस सम्झौतालाई गम्भीर रूपमा नलिँदा यो अवस्था आएको स्थानीयबासी बताउँछन् ।

विगत १६ वर्षदेखि काठमाडौं महानगरपालिका, ललितपुर नगरपालिका, तारेकेश्वर नगरपालिका, नागर्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका आदिको फोहोर मैला काठमाडौं महानगरपालिकाले सिसडोल डम्पिङ साइटमामा बिर्सजन गर्दै आएको छ ।

सम्बन्धित समाचार