नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी भएपछि सोमबार बिहान १० बजेलाई निर्धारित सत्ता गठबन्धनको बैठक दिउँसो चार बजेलाई सरेको छ। देउवाले बिहान गठबन्धनको बैठक बोलाएपछि तयारीमा समय अभाव हुने ठानेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको दिउँसो तीन बजेलाई निर्धारित स्थायी कमिटी बैठक स्थगित गरेका थिए।
तर देउवाले आफूलाई अलि बिसन्चो भएको र आराम गर्नु पर्ने भएकाले बैठक दिउँसो चार बजेलाई तोकेको जानकारी गठबन्धनका नेताहरुलाई पठाएका छन्। सत्ता गठबन्धनको सोमबारको बैठकमा सरकारको कामकारवाही, मन्त्रिपरिषद् बिस्तारबारे छलफल हुने देउवा निकट एक नेताले जानकारी दिए।
सत्तारुढ दलका नेताहरु सहभागी गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, डा मिनेन्द्र रिजाल सहभागी छन्। यसैगरी माओवादीबाट वर्षमान पुन बैठकमा सहभागी छन्। जनता समाजवादीका तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय बैठकमा सहभागी छन्। प्रधानमन्त्रीको सचिवलायका अनुसार बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता भने सहभागी छैनन्।
सरकार सञ्चालनका लागि सल्लाह दिन गठन भएको कार्यदलले मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेको बताइएको छ। असार २९ गते पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले सोही दिन पाँच सदस्यी मन्त्रिपरिषद् बनाए। साउन १२ गते एक राज्यमन्त्री नियुक्त गरे पनि पूर्ण रुपमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
सरकार सञ्चालनमा सहयोगकै लागि कांग्रेस महामन्त्री खड्काको संयोजकतत्वमा कार्यदल गठन भएको हो। कार्यदलमा कांग्रेसका तर्फबाट खड्का, रमेश लेखक र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन्।
