नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।

संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि लुम्बिनीमा विपक्षी दलले प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख शेरचनालाई आज (सोमबार)निवेदन दिएका हुन् ।
निवेदनमा काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका तारा जिसीले हस्ताक्षर गरेका छन् ।
‘लुम्बिनी प्रदेश सभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्था विद्यमान भएकोले संविधानको धारा १६८ को (१) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार नियुक्तिको धाराअनुसारको संवैधानिक हैसियतमा नरहेको अवस्थाको विद्यमानतामा नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकार गठनका लागि आह्वान गरी पाउन माननीय प्रदेश प्रमुखज्यूसमक्ष सादर निवेदन गर्दछौँ,’ निवेदनमा भनिएको छ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका छन् । त्यस्तै विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको थियो ।
