ओलीको प्रस्तावमा नेपाल र नेपालको प्रस्तावमा ओली सहमत, आजै वार्तामा बसेर वृहत सहमति गर्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका लागि दुई नेता भेटवार्ताका लागि तयार भएका हुन् ।  ‘अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएर र नेता नेपालको प्रस्तावमा अध्यक्ष ओली सहमति भएर नै भेटघाट तय भएको हो,’ कार्यदलका एक सदस्य भन्छन्, ‘दुवै नेताको भेटपछि एमाले नेता कार्यकर्ताले निराश हुनुपर्ने अवस्था आउदैन।’



नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी भएका हुन् ।

कार्यदलको दश बुँदे सहमतिलाई ओली नेपालले केही सुधारेर सहमति गर्ने भएका छन् । त्यसमा उनीहरुले नेताहरुको जिम्मेबारेदेखि महाधिवेशन प्रक्रियासम्म समेटेर बृहत सहमतिको नाम दिने तयारी गरेको सेतको भनाइ छ ।

यता एमालेमा ओली नेपालबीच सहमति हुन लागेको सुइको पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै बिहान नेपाललाई भेटेका छन् । भेटमा प्रचण्डले ओलीसँग हुन लागेको सहमतिको विषयमा जिज्ञासा राखेको बताइन्छ ।

सम्बन्धित समाचार