नवकान्तिपुर संवाददाता
काठमाडौं, १९, साउन ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
३४ जना सांसदहरुको हस्ताक्षर सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
त्यस्तै विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । विपक्षी दलले सोमबार संविधानको धारा १६८ (२) अनुसारको नयाँ सरकार गठनको आह्वानका लागि लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका थिए ।
निवेदनमा काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका तारा जिसीले हस्ताक्षर गरेका थिए ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका छन् । त्यस्तै विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको थियो ।
