
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याइएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा अनुगमनमा थप कडाइ गर्ने निर्णय भएको बताए । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई कानुनी दायरामा ल्याइने उनले बताए ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।
