नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

सरकारमा सहभागी हुने कि पार्टी एकतामा जोड दिने भन्ने दोधारमा रहेको एमालेको माधव नेपाल समूहको कारण देशको राजनीति यथास्थिमा रुमलिन पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पक्षलाई कुर्दैगर्दा तीन सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने एमाले अध्यक्ष केपी ओलीले पनि नेपाल पक्षलाई कुर्दैगर्दा पार्टी गतिविधि अगाडि बढाउन सकेका छैनन् । पछिल्लो समय वान टु वान वार्ताको लागि तयार भएका नेपाल प्रचण्डसँगको वार्तापछि भड्किएपछि एमाले एकताको बाधक प्रचण्ड भएको निष्कर्षमा ओली पुगेका छन् ।
एमाले दोस्रो तहका नेताहरूको प्रयासपछि मंगलबार ओली र नेपालबीच वार्ताको तयारीमा जुटेका थिए । तर, प्रचण्ड बिहानै कोटेश्वर पुगेर माधव नेपाललाई भेटेपछि वार्ताको वातावरण बिग्रिएको ओली पक्षको बुझाइ छ । नेपालले ओलीसँग वार्तामा बस्नुअगाडि केन्द्रीय सदस्यहरूसँग राय लिने भन्दै आफुनिकटका केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोलि बस्दैछ । उनले ओलीसँग राखिने शर्तहरू केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी गरेका छन् ।
ओलीलाई पेश गरिने शर्तहरु पनि पछिल्लो समय नेपालले क्रमशः थपिरहेका छन् । पार्टी एकताको लागि ओली लचिलो हुँदै जाँदा नेता नेपालका भने शर्तहरूको चाङ लाग्ने गरेको छ । पछिल्लो समय नेपालले राखेका शर्तहरूमा ओलीले संसद् विघटन गरेकोमा माफी माग्नुपर्नेदेखि देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय समहतिको सरकार बनाउनुपर्नेसम्मका शर्त छन् । उनका पछिल्ला शर्त सुनेपछि ओली समूहका नेताहरुलले माधव नेपाल पार्टी एकता होस् भन्ने पक्षमा नरहेकोले अनावश्यक शर्तहरू अगाडि सारेको आरोप लगाउन थालेका छन् ।
ओलीलाई झुलाउँदै नेपाल
माधव नेपाल ओलीसँग पार्टी एकता गर्ने भन्दा पनि उनलाई झुलाउँदै गर्ने र उपयुक्त वातावरणमा पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएर आफ्ना संसद्हरूलाई सुरक्षित अवतरण गराउने प्रयासमा रहेको स्रोतको दाबी छ । त्यसैले नेपालले तत्काल सरकारमा पनि नजाने र एमाले एकताको लागि निर्णयक वार्तामा पनि नबस्ने रणनीति अवलम्बन गरेका छन् ।
तत्काल सरकारमा जाँदा केपी ओलीले कारवाही गर्न सक्ने र त्यो कारवाहीले मान्यता पाउने डर उनमा छ । यता पार्टी फुटाएको आरोप आफ्नो थाप्लोमा नआओस् भन्नेमा पनि माधव नेपाल सचेत देखिन्छन् । त्यसैले पनि उनले पार्टी र सरकार दुबैलाई व्यालेन्समा राखेको बुझ्न सकिन्छ ।
