नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ ।
बुधबार तेस्रोपटक बसेको कार्यदलले सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिमरूप दिन बिहीबार पुन: बैठक बस्नेगरी सकिएको कार्यदलका सदस्य–सचिव केशवराज जोशीले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमका रुपमा समेत साझा कार्यक्रम आउने भएकाले आयोगको पनि विचार लिन लागिएको हो । बिहीबारको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको छ ।
पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ।
साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ।
