नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति र अतिक्रमण सह्य नहुने बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीले तुइन काटिदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका हुन् ।
त्यस्तै उनले ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’ यस्तै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने बताए । घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही को माग गर्दै श्रेष्ठले भारतलाई हेपाहा प्रवृत्ति नदोहोर्याउन पनि आग्रह गरे ।
सरकारले सो घटनाबारे छानविन समिति बनाएर परिपक्व कुटनीतिमार्फत संवाद गरौं भन्ने प्रयास थालेको भन्दै उनले आवश्यक पर्दा जस्तोसूकै कदम चाल्ने प्रतिबद्धता पनि सरकारका तर्फबाट आएकोमा स्वागत गरे । ‘यो ठिकै छ । तर छानविन समितिको प्रतिवेदन ल्याएर भारतसँग छिटोभन्दा छिटो यसबारे कुटनीतिक स्तरमा कुरा राख्ने काम गर्नुपर्छ,’ उनले भने ।
