नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाए । उनले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताए।
सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड–१९ विरुद्धको खोपसमेत व्यवस्थित रूपमा नागरिकसमक्ष पुर्याउन नसकेको उनले बताए । उनले भने – ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो देशमा राजनीतिक अपराधीकरणको सुरुवात भएको छ । हाक्काहाक्की कुशासनको आरम्भ भएको छ । लोकतन्त्र भनेको विधि र पद्धतिमा चल्ने शासन व्यवस्था हो । तर आज लोकतन्त्रको नाममा विधि र पद्धतिको धज्जी उडाइएको छ । एमाले सरकारले नेपाली नागरिकलाई पुग्ने गरी खोपको प्रबन्ध गरेको थियो । चिन्ताको विषय, अरूले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रूपमा नागरिककोमा पुर्याउन सकेन । खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ । सोर्सफोर्सले खोप लगाउन पाउने, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ ।’
सांसद भट्टराईले अदालत दलीय व्यवस्था र संसदीय परिपाटीको बर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक सङ्घर्ष जारी राख्ने पनि बताए । उनले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताले हार्ने पनि उल्लेख गरे । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उनले त्यसलाई स्वीकार्न नसक्ने बताए ।
