नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकोप्रति महन्थ ठाकुर पक्ष रुष्ट बनेको छ। निर्वाचन आयोगको फैसलाप्रति चित्त नबुझेकाले सर्वोच्च अदालतमा रिट दर्ता गराएको यो न्याय पाउनेमा आशावादी थियो । तर अदालतले अन्तरिम हादेश नदिएपछि महन्थ निरास छन् ।
ठाकुरले बुधबार एक सार्वजनिक अपिल जारी गर्दै आफूहरु जनताको पक्षमा लागेको बताएका छन्। उपेन्द्र यादव पक्षले आफूहरुलाई गल्ती स्वीकार गरि आत्मालोचना गरेमा पार्टीमा स्थान दिन सकिन्छ भनी सार्वजनिक गरेको भनाइप्रति पनि ठाकुर पक्षले आपत्ति प्रकट गरेको छ।
‘हामी जनताको कठघरामा उभिएरर भन्न चाहन्छौं, के आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता तथा बन्दी रिहाइ गराउनु गल्ती हो ?’ अपिलमा भनिएको छ। मधेशी अधिकारको लागि लड्ने एउटा पार्टी (समाजवादी पार्टी) फुट्दै गर्दा आफूले जोखिम मोलेर पनि पार्टी बचाएको भन्दै ठाकुरले प्रश्न गरेका छन्, ‘नागरिकताको लागि अध्यादेश ल्याउन लगाउनु तथा संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु गल्ती हो ? के उत्पीडित जातजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरि दवाव दिनु अपराध हो ?’
आफ्नो पक्षले मधेशी जनता तथा पीडितको पक्षमा गरेको काम गलत हो भने यस्ता अपराध बारम्बार गर्न तयार रहेको ठाकुरको अपिलमा उल्लेख छ। जसपाको दुई पक्ष (उपेन्द्र यादव तथा महन्थ ठाकुर)बीच पार्टी आधिकारिकतामा विवाद भएपछि गत ११ गते निर्वाचन आयोगले हेडकाउन्टमार्फत उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो।
