नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

एक नम्बर प्रदेशको प्रदेश सभा बैठक आज बोलाइएको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम र बजेट पास गरेसँगै बैठक स्थगन गरिएको थियो । सरकारले बिजनेस दिन नसकेका कारण असार २५ गतेयता स्थगन गरिएको प्रदेश सभा बैठकमा कृषि अनुदान सम्बन्धी विधेयक पेस हुने छ । बिजनेस अभाव भनिए पनि सरकारका काम कारवाहीको विषयमा विपक्षी दलबाट चर्को आलोचना र टिप्पणी हुन थालेपछि बैठक स्थगन गरिएको थियो । आज १ बजे बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
कृषि सम्बन्धी विधेयकमाथि आजैबाट छलफल हुने जनाइएको छ । प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा दर्ता भएको सचिवालयले जनाएको छ ।
संघीय सरकारमा नेतृत्व परिवर्तन भएसँगै प्रदेश नं १ मा पनि सरकार फेरबदल गर्न विपक्षी गठबन्धनले तयारी गरिरहेको छ । तर, शेरधन राई नेतृत्वको सरकारको विकल्प दिन अविश्वास प्रस्ताव ल्याउने तयारी गरिए पनि यसको प्रक्रिया र तयारीको विषयमा विपक्षी दलले स्पष्ट गरिसकेका छैनन् । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की भन्छन्, ‘यो सरकारको विकल्प खोज्ने काम त पहिले पनि भएको हो । विपक्षी दल सँधै लागि परेका छन् । तर, के कसरी नयाँ सरकार बन्न सक्छ भन्ने थप छलफल गरेर अघि बढ्ने तयारी छ,’ उनले तयारीबारे थप खुलाउन चाहेनन् ।
यता, मुख्यमन्त्री राईले भने सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा जवाफ दिने क्रममा यही अधिवेशनबाट प्रदेशको नाम टुंग्याउनु पर्ने प्रस्ताव गरे पनि घनीभूत छलफल भने प्रारम्भ गर्न सकेका छैनन् । उनको दलमा देखिएको विवाद र गठजोड तथा नामभित्रको मतान्तरले यही अधिवेशनबाट प्रदेशले नाम प्राप्त गर्ने सम्भावना भने न्यून देखिएको एमालेकै सांसदहरु बताउँछन् ।
