नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको बताएकी छिन् । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी सांसद वलीले १५ साउनदेखि २० गतेसम्म आफूलाई मुख्यमन्त्रीको निवासमा राखेको र नक्कली हस्ताक्षर गरी एमालेमा फर्किएँ भनेर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।
त्यस्तै उनले एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र सांसद मानबहादुर राउतले आफुलाई नेपालगञ्ज भनेर जबरजस्ती बुटवल लगेको दावी गरेकी छन् । ‘म बिरामी छु, उपचारका लागि नेपालगञ्ज जाँदैछु जान दिनुस् भन्दा ढकाल र रावतले हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाउ पुर्याइदिन्छौ भन्नुभयो’ वलीले पत्रकार सम्मेलनमा भनिन्, ‘त्यसो भनेपछि विश्वास गरेर गाडीमा बसे ।’
उनले गाडी तुलसीपुरबाट नेपालगन्जतर्फ जानुपर्नेमा बुटवलतर्फ मोडिएपछि ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गर्दा बुटवल पुगेर मुख्यमन्त्रीलाई भेटेर जाने भन्दै एकैपटक मुख्यमन्त्री निवास पुर्याइयो ।’
यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर, उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उपस्थित भएकी थिइन् । यसअघि सम्पर्क विहिन भएकी विमलाको नेकपा माओवादी केन्द्रले तत्काल स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।
विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ। प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ।
